‘लुटेरा’ निर्माताले बनाउने भए नेपाल भाषाको फिल्म

33

फिल्म वितरक, हल सञ्चालक तथा फिल्म निर्माता गोपालकाजी कायस्थले नेपाल भाषाको फिल्म निर्माण गर्ने गरेका छन् । उनको निर्माण रहने नेपाल भाषाको फिल्म ‘छंगु जिगु माया रतन’ को बिहीबार साँझ राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । सुखावती मल्टी प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो फिल्मलाई सुरेन्द्र तुलाधरले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो । फिल्मबाट नायकको रुपमा सरोज श्रेष्ठ र नायिकाको रुपमा लजना महर्जनले डेब्यू गर्दैछन् । ‘छंगु जिगु माया रतन’ को घोषणा कार्यक्रममा उनीहरुले फिल्मको शीर्ष गीतमा नृत्य पनि प्रस्तुत गरेका थिए । दुवैले फिल्मलाई लिएर उत्साहित रहेको बताए । प्रेमकथामा आधारित भएर बन्न लागेको फिल्मलाई दिव्य सुवेदीले खिच्नेछन् । उनले नेपाली फिल्म पनि थुप्रै खिचिसकेका छन् ।

फिल्ममा निर्माता कायस्थसँगै गोविन्द महर्जन, विश्व रत्न तुलाधर, कविता श्रेष्ठ, रजना जोशी, उत्तम प्रधान, बुद्ध शाही र डा. बलराम श्रेष्ठको पनि लगानी रहनेछ । फिल्मको शीर्ष गीत गायक उदित नारायण झा र दीपा नारायण झाले गाएका छन् । उनीहरुले पहिलो पटक नेपाल भाषाको गीत गाएको निर्देशक तुलाधरले बताए । फिल्मको गीत यमन श्रेष्ठ र दीपा महर्जनले पनि गाएका छन् । निशिला शाक्यको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको छायांकन पुष अन्तिमबाट सुरु हुने बताइएको छ । नेपाल भाषामा बन्ने फिल्म वर्षौदेखि च्यारिटी शोको भरमा चल्दै आएका छन् । नियमित रुपमा हलमा प्रदर्शन हुँदैनन् । तर, फिल्म ‘छंगु जिगु माया रतन’ भने हलमा पनि प्रदर्शन हुने निर्माता कायस्थले बताए । उनी फिल्मको कथा निकै राम्रो रहेको बताउँछन् ।