प्रचारमा छैनन् ‘पासवर्ड’ का कलाकार ?

41
अहिले फिल्म निर्माण गरेर मात्र हुँदैन । दर्शकलाई हलसम्म आकर्षित गर्न प्रचार-प्रसार पनि तगडा हुन आवश्यक हुन्छ ।विना प्रचार प्रदर्शनमा उत्रिएका फिल्म राम्रा भएर पनि नचलेका उदाहरण कैयन् छन् । प्रचार राम्रो भएन भने हलमा कुन फिल्म प्रदर्शन भइरहेको छ भन्ने जानकारी दर्शकलाई हुँदैन । दर्शक नै फिल्मको बारेमा अनविज्ञ भए भने हलको व्यापार राम्रो हुने कुरै आउँदैन । त्यसैले फिल्म निर्माण गर्दै गर्दा प्रचारलाई पनि विशेष ध्यान दिन आवश्यक हुन्छ ।
अहिले फिल्मको प्रचार शैली फेरिएको छ । एक समय पोस्टर र माइकिङ गरेर दर्शकमाझ फिल्मको जानकारी पुर्‍याइन्थ्यो । भित्तामा पोस्टर टाँस्ने चलन अझै हराएको छैन तर अब त्यसले दर्शक हलसम्म तान्न छाडिसकेको छ । अहिले पत्रकार सम्मेलन, कन्सर्ट, उपहारका योजनाहरु, प्रतियोगिता आह्वानलगायतका प्रचार शैली निकै फस्टाएका छन् । यो गर्दैमा हलमा दर्शकको भीड ओहिरिने भन्ने त होइन तर फिल्म राम्रो भए फाइदा भने अवश्य पुग्छ ।
प्रतिष्ठित ब्यानरले फिल्म निर्माण गरेपछि महँगो बजेट प्रचार-प्रसारका लागि छुट्याउने गरेका छन् । तर, शुक्रबारबाट प्रदर्शनमा आउन लागेको महँगो बजेटमा निर्माण भएको फिल्म ‘पासवर्ड’ टिमले भने पब्लिसिटीमा कुनै चासो देखाएको छैन । यो फिल्म प्रदर्शनमा आउन दुई दिन मात्र बाँकी छैन । तर, धेरै दर्शक फिल्मबारे अनविज्ञ छन् । किनकि, निर्माण टिम प्रचारका लागि दौडिएको छैन । न त कलाकारले नै कतै फिल्मको विषयमा बोलेका छन् ।
यो फिल्मको एक आइटम गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीले ठुम्का लगाएकी छन् । फिल्ममा उनको अभिनय पनि रहेको निर्माण टिमको भनाई छ । उनले नृत्य गरेको गीतले युट्युबमा राम्रो भ्यूज बटुलेको छ, जसको फाइदा फिल्मको सुरुवाती व्यापारमा पुग्नेमा निर्माण पक्ष विश्वस्त छ । तर, बलिउडमै असफल अभिनेत्री मानिने सन्नीले २/३ सिनमा अभिनय र गीतमा ठुम्का लगाएको भरमा दर्शक महँगो टिकट काटेर हल पुग्नेमा शंकै छ ।
‘पासवर्ड’ को प्रिमियरको लागि सन्नी बिहीबार नेपाल ओलिँदैछिन् । अहिले फिल्मको टिम उनको स्वागतको तयारीमा जुटेको छ । उनको नाम भजाएर हलमा दर्शक तान्ने दाउमा निर्माण टिम देखिएको छ । तर, त्यसका लागि पनि पर्याप्य प्रचार गरिएको छैन । किन निर्माण टिमले प्रचारमा कलाकार दौडाउन सकेन ? सन्नीलाई काखा गरेर अरु कलाकारलाई सौतेनी व्यबहार गरिएकाले यो अवस्था श्रृजना भएको त होइन ? वा, कलाकारले नै बेवास्था गरेका हुन् ? भगवान् जानुन् ।
अनुप विक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, धिरेन शाक्य, विक्रम जोशी, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के। थापा सह-निर्माताको रुपमा रहेका छन् । सौरभ लामाले खिचेको फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । प्रचार अभावका कारण फिल्म बक्सअफिसमा पत्तासाफ चाहिँ नहोस्, शुभकामना ।