दिनेशले आफैं निर्देशन गरेनन् ‘सेल्फी किङ’ ?

36
   निर्देशक दिनेश राउत दर्शकको नाडी छामेर मनछुने लभस्टोरी फिल्म पस्कन सिपालु मानिन्छन् । ‘मेरो एउटा साथी छ’ मा निर्देशक सुदर्शन थापालाई निर्देशनमा सघाएका उनले अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारी स्टारर फिल्म ‘आई एम सरी’ बाट निर्देशनमा डेब्यू गरेका थिए । यसपछि उनले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता यादगार फिल्म पस्किए । फिल्म ‘पर्व’ ले भने दर्शकलाई निराश बनायो । किनकि, यो उनको जनराको फिल्म थिएन ।
तर, गत वर्ष प्रदर्शनमा आएको अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘प्रसाद’ ले उनलाई फेरि एकपटक अब्बल निर्देशकको रुपमा प्रमाणित गर्‍यो । यसमा उनको निर्देशकिय क्षमताको निकै प्रशंसा भएको थियो । वर्षमा एउटाभन्दा बढी फिल्म नगर्ने उनी अहिले आफूले सहायक निर्देशकको रुपमा काम गरेको दशक अगाडिको सुपरहिट फिल्म ‘मेरो एउटा साथी छ’ को दोस्रो पार्टको निर्देशन गर्दैछन् ।
सम्भवतः ‘मेरो एउटा साथी छ २’ को दशैंपछि छायांकन सुरु हुँदैछ । अहिले यसको कथा उनी स्वयंले लेखिरहेका छन् । कुशल निर्देशकको रुपमा आफूलाई स्थापित गरेका उनी अब आफ्नो परिचयको घेरा थप फराकिलो बनाउँदैछन् । उनी पहिलो पटक निर्माता भएर आउँदैछन् । मंगलबार मुहूर्तसँगै छायांकन सुरु भएको फिल्म ‘सेल्फी किङ’ लाई उनले निर्माण गर्दैछन् । ‘प्रसाद’ निर्माता सुवास थापाले उनलाई लगानीमा सघाएका छन् ।
अभिनेता विपिन कार्की र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमुख भूमिका रहने फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् । निर्देशक राउतले कथावस्तुले मन छोएका कारण फिल्ममा लगानी गर्न तयार भएको बताएका छन् । किन आफैंले फिल्मको निर्देशन गर्नुभएन ? आइतबार ‘सेल्फी किङ’ को घोषणा सभामा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले फिल्मको कथावस्तु बलियो भएका कारण लगानी गर्ने हिम्मत जुटाएको बताए ।
उनी भन्छन्, ‘विशाल (निर्देशक) को फिल्मलाई हेर्ने र बुझ्ने तरिका मसँग मिल्ने भएकाले फिल्ममा लगानी गर्न तयार भएको हुँ । र, कथावस्तु राम्रो लागेर पनि हो । कतिपय अवस्थामा आफूलाई भन्न मन लागेको कथा हुन्छ तर निर्माता लगानी गर्न तयार हुँदैनन् । कुनै लेखकले कथा लेख्छ र कुनै निर्देशकले त्यसलाई भन्न खोज्दैछ भने त्यसमा जति मज्जा केहीमा पनि हुँदैन । तर, त्यो अवसर मिलिरहेको हुँदैन ।’
निर्देशक सापकोटामा राम्रो सम्भावना देखेका कारण आफूले निर्देशकको जिम्मेवारी सुम्पिएको उनी बताउँछन् । राम्रो सम्भावना हुँदा-हुँदै पनि अवसर नपाएर आफूलाई मन लागेको कथा भन्न नसकेका नयाँ तथा पुराना जो कोहीलाई आफ्नो कम्पनी पिक्चर फिल्मस्ले सघाउने उनले बाचा गरेका छन् । उनी अब आफूलाई फिल्म निर्माणमा पनि सक्रिय राख्ने सोचमा छन् । निर्देशक दिनेश राउतलाई नयाँ यात्राका लागि शुभकामना ।