तिलोत्तमामा बायो शौचालय बन्दै

78

तिलोत्तमा सिटी, साउन । हालसम्म नगन्य मात्रामा सार्बजनिक शौचालय भएको तिलोत्तमा नगर बायो शौचालय निर्माण गर्ने सोचमा छ। आफ्नो विकास साझेदार निकाय शंकरनगर खानेपानी तथा सरसफाई संस्था मार्फत तिलोत्तमाको योगिकुटीदेखि ड्राइभरटोल सम्मका १० स्थानमा सार्वजनिक बायो शौचालय जडान गर्ने भएको हो । सबै तरहले सुबिधा रहेको तिलोत्तमा नगरमा बस्ने मानिसको जनसंख्या बृद्दी दिनानुदिन भैरहेको छ । यसका अतिरिक्त रोजगारी र पढाइका लागि बस्ने मानिसको जनसंख्या उत्तिकै हाराहारीमा छ । जनसंख्याको चापाचाप भएको यस ठाउमा सार्वजनिक शौचालय कति होला ? तपाईंलाई लाग्ला यत्रतत्र सयौँ सार्वजनिक शौचालयहरु होलान् । तर हाइवे रहेको ठाउमा न शौचालय छ न धारा ! एक बर्ष अघि मात्र खुल्ला दिशा मुक्त घोषणा भएको रुपन्देही जिल्लाको सुगम नगरपालिकाको रुपमा परिचित यस ठाउमा अहिले निर्माण भैसकेको योगीकुटी शौचालय पनि ३ बर्ष हुन लाग्यो संचालनमा नआएको !

स्मार्ट शौचालय बन्ने
यसैबीच, सार्वजनिक शौचालयको अभाव भएको भन्दै तिलोत्तमा नगरको योगीकुटी देखि ड्राइभरटोलसम्म बायो शौचालय निर्माण हुने भएको छ । शंकरनगर खानेपानी सरसफाई तथा उपभोक्ता सस्थाले ईलेफो बायोटेक प्राइभेट लिमिटेड हरिद्वार, उत्तराखण्डको प्राविधिक सहयोगमा निर्माण गर्न लागेको सो शौचालय २ महिना भित्रै निर्माण गरिने सस्थाका अध्यक्ष हरि तिवारीले बताए । सो स्मार्ट शौचालय अपाङ्गमैत्री र स्मार्ट हुने र त्यसबाटै बायो ग्यास निकाल्न समेत सकिने तयारीका साथ निर्माणको तयारी गरेको अध्यक्ष तिवारीको भनाई छ ।